काठमाडौँ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पतालमा शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा लागू गर्ने निर्णय गरेको छ। मन्त्रालयले राजपत्रमा प्रकाशित सूचनाअनुसार सो व्यवस्था अस्पताल सेवामा पनि लागू हुने जनाएको हो।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले लागू गरेको हप्तामा दुई दिन सार्वजनिक बिदाको नीतिअनुसार अस्पतालमा पनि यही व्यवस्था लागू गरिएको हो। यसअघि मन्त्रालयले आइतबार पनि बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको भए पनि नयाँ व्यवस्थासँगै बिदा प्रणाली पुनः समायोजन गरिएको छ।
प्रवक्ता बुढाथोकीले स्वास्थ्यकर्मीको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गर्न अन्तरङ्ग र आकस्मिक सेवा भने २४ घण्टा निरन्तर सञ्चालनमा रहने जानकारी दिनुभयो। उहाँका अनुसार पूर्वनिर्धारित शल्यक्रिया तथा अन्य सेवाहरू बिरामीको सहजता अनुसार पुनः समय मिलाएर सञ्चालन गरिनेछ।
मन्त्रालयले बिदाका दिनमा बिरामीले कुनै पनि असुविधा भोग्न नपरोस् भन्ने उद्देश्यले सम्भव भएसम्म सेवा निरन्तर सञ्चालन गर्न अस्पतालहरूलाई आग्रह गरेको छ। साथै आवश्यक सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रेफरल व्यवस्था गर्न र एम्बुलेन्सलाई तयारी अवस्थामा राख्नसमेत निर्देशन दिइएको छ।
त्यस्तै, बिदाका दिन उपलब्ध हुने सेवाको विवरण अस्पतालहरूले आफ्नो वेबसाइट तथा सूचनापाटीमा अनिवार्य रूपमा सार्वजनिक गर्नुपर्ने मन्त्रालयले जनाएको छ।