काठमाडौँ,
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङमा राताम्मे पहाडको भित्ता खोपेर निर्माण गरिएको गुफाभित्र रहेको गुम्बा ऐतिहासिक तथा धार्मिक दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा रहेको छ। ‘मिन्ची ल्हवाङ’ नामले परिचित यो गुम्बा करिब एक हजार २०० वर्षभन्दा पुरानो भएको स्थानीयको भनाइ छ।
जोमसोम हुँदै कागबेनी–कोरला सडक नजिकै भिरालो सतहमा अवस्थित यो गुफाभित्रको गुम्बा छुसाङका छ परिवारको संयुक्त स्वामित्वमा रहेको छ। यहाँ दैनिक साँझ आलोपालो गरी दीप प्रज्वलन तथा पूजाआजा गर्ने परम्परा रहिआएको छ। परापूर्वकालमा मनाङबाट आएका पूर्खाले यहाँ देवता स्थापना गरी गुफाभित्र गुम्बा निर्माण गरेको विश्वास स्थानीयमा रहेको छ।
भूगर्भीय रूपमा कमजोर र जोखिमयुक्त पहाडमा अवस्थित भएकाले गुफा र गुम्बा भूक्षय तथा प्राकृतिक विपद्को जोखिममा रहेको स्थानीयले बताएका छन्। तर लामो समयदेखि छ परिवारका पुस्ताले यसको संरक्षण गर्दै आएको छ। गुफाभित्र माटोबाट निर्मित बुद्धका विभिन्न स्वरूपका मूर्तिहरू ८०० वर्षभन्दा बढी पुराना रहेको अनुमान गरिएको छ भने एक हरिताराको ढुङ्गाको मूर्ति करिब १ हजार २०० वर्ष पुरानो मानिन्छ।
गुम्बाभित्र करिब एक दर्जन बुद्धका विभिन्न मूर्तिहरू रहेका छन्। धार्मिक तथा पर्यटकीय महत्व बोकेको यस स्थलमा स्वेच्छिक दानका लागि बाकस राखिएको छ, जसमा सङ्कलित रकम गुम्बाको संरक्षण तथा मर्मतमा प्रयोग गरिन्छ। हिउँ परेका बेला गुफाको छतबाट हिउँ पन्छाउने कार्यसमेत यही रकमबाट हुने गरेको स्थानीयले बताएका छन्।
गुफाको भित्री भागमा पुराना कलात्मक चित्रहरू पनि सुरक्षित छन्। माथिल्लो भागमा बुद्धका मूर्तिहरू राखिएका छन् भने गुम्बाभित्र परिक्रमा गर्ने स्थान पनि व्यवस्था गरिएको छ। विभिन्न विदेशी अनुसन्धानकर्ताले यस गुफा र गुम्बाको अध्ययन गरिसकेको स्थानीयको भनाइ छ।
गुफा भित्र र बाहिर पहुँचका लागि काठका भर्याङ राखिएका छन् र प्राकृतिक रूपमा बनेका साना झ्यालजस्ता प्वालबाट प्रकाश आउने व्यवस्था गरिएको छ। धार्मिक तथा ऐतिहासिक महत्वका कारण यस गुफा–गुम्बा क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको स्थानीयको भनाइ छ।
स्थानीयवासीका अनुसार उचित संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न सके यस क्षेत्रले पर्यटन विकासमा ठूलो योगदान पुर्याउन सक्छ। मुख्य सडकबाट पैदल पाँच मिनेटमै पुग्न सकिने भएकाले यसलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उनीहरूको विश्वास छ।