महोत्तरीमा स्वतन्त्र उम्मेदवारमाथि आक्रमण, उपचारका लागि जनकपुर पठाइयो

mayukarajkumari

जलेश्वर (महोत्तरी), 

महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार रामआधार कापरमाथि अज्ञात समूहले कुटपिट गरेको घटना सार्वजनिक भएको छ। घटना गए राति जलेश्वर नगरपालिका–७ मा भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक हेरम्ब शर्माका अनुसार अज्ञात व्यक्तिहरूको समूहले कापरमाथि निर्घात आक्रमण गरेको हो। आक्रमणबाट उहाँको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि कापरले तत्काल प्रहरी–प्रशासनलाई खबर गर्नुभएको थियो। सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर उहाँलाई उद्धार गरी उपचारका लागि जनकपुर पठाइएको प्रहरी उपरीक्षक शर्माले जानकारी दिनुभयो। हाल उहाँको जनकपुरस्थित अस्पतालमा उपचार भइरहेको छ।

प्रहरी घटनास्थलमा पुग्नासाथ आक्रमणकारीहरू फरार भएको र उनीहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया