काठमाडौँ,
नयाँ वर्ष २०८३ को पहिलो दिन मुक्तिनाथ मन्दिर मा करिब १२ हजारभन्दा बढी धार्मिक तीर्थालुले दर्शन गरेका छन्। सुस्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गर्दै स्वदेशी तथा विदेशी भक्तजनले श्रद्धापूर्वक दर्शन गरेका हुन्।
मुक्तिनाथ विकास समितिका अनुसार सामान्य दिनमा दैनिक चारदेखि पाँच हजारसम्म दर्शनार्थी आउने गरे पनि नयाँ वर्षका अवसरमा सो सङ्ख्या दोब्बरभन्दा बढी पुगेको हो। दिउँसोपछि पनि मन्दिर परिसर दर्शनार्थीले खचाखच भरिएको व्यवस्थापक दिनेश भुसालले जानकारी दिनुभयो।
नयाँ वर्षको अवसर पारेर सरकारी कर्मचारी, स्थानीय बासिन्दा तथा टाढाटाढाबाट आएका भक्तजनसमेत ठूलो सङ्ख्यामा मुक्तिनाथ पुगेका थिए। केही अन्तर्राष्ट्रिय परिस्थितिका कारण इन्धन आपूर्तिमा समस्या देखिए पनि दर्शनार्थीको उत्साहमा कमी आएको थिएन।
बिहानैदेखि मन्दिर क्षेत्रमा बाक्लो चहलपहल देखिएको थियो। मन्दिर परिसर, १०८ धारालगायतका स्थानमा दर्शनार्थीको भीड लागेको थियो। नयाँ वर्षको पहिलो दिन मुक्तिनाथ दर्शन गर्दा वर्षभरि शुभफल मिल्ने धार्मिक विश्वासका कारण भक्तजनको उपस्थिति उल्लेख्य रहेको हो।
दर्शनार्थीको भीड व्यवस्थापनका लागि समितिले लाइनबद्ध व्यवस्था मिलाएको थियो। साथै, रानीपौवास्थित बसपार्कमा सवारी साधनको चाप बढ्दा पार्किङ व्यवस्थापनमा पनि चुनौती देखिएको थियो। तीर्थालुको आगमनसँगै जोमसोम, मार्फालगायत आसपासका पर्यटकीय क्षेत्रमा समेत चहलपहल बढेको छ।