काठमाडौँ,
नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटन सिकार आरक्षमा पहिलो पटक हिउँ चितुवा गणना गरिने भएको छ। यसअघि नाउर र झारलको वैधानिक सिकार हुँदै आएको यस उच्च हिमाली क्षेत्रमा हिउँ चितुवाको अवस्था अहिलेसम्म औपचारिक रूपमा गणना गरिएको थिएन।
आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीका अनुसार हिउँ चितुवा गणनाका लागि कर्मचारी, तालिम प्राप्त गणक तथा स्थानीयको सहभागिता रहनेछ। गणनाका लागि ५६ वटा स्वचालित क्यामेरा उच्च हिमाली सिकार ब्लकहरूमा जडान गरिने तयारी गरिएको छ।
सुवेदीका अनुसार करिब ४५ दिनसम्म सञ्चालन हुने यस गणनामा क्यामेराबाट प्राप्त तस्बिर, चितुवाको पाइला, दिसा तथा अन्य स्थलगत प्रमाण संकलन गरी वैज्ञानिक रूपमा संख्या निर्धारण गरिनेछ। गणनाका क्रममा चितुवाको शरीरमा रहेका धब्बाका आधारमा छुट्टाछुट्टै पहिचान गर्ने विधि अपनाइनेछ।
ढोरपाटन आरक्षको ४ हजार मिटरदेखि ७ हजार मिटरभन्दा माथिसम्मको उच्च हिमाली क्षेत्र हिउँ चितुवाको प्रमुख बासस्थान मानिन्छ। आरक्षका सेङ, सुनदह, दोगाडी, घुस्तुङ, बार्से र फागुने ब्लकमा विशेष रूपमा क्यामेरा जडान गरी अध्ययन गरिने जनाइएको छ।
यसअघि गरिएको २०७९ सालको गणनाअनुसार आरक्षमा १,२९० नाउर र ७४४ झारल रहेको तथ्यांक सार्वजनिक गरिएको थियो। आगामी वर्ष भने नाउर र झारलको नयाँ गणना गर्ने योजना रहेको आरक्षले जनाएको छ।