तेहरान,
तीन दशकभन्दा लामो समयदेखि इरानमा सर्वोच्च नेताको रूपमा सत्ता चलाउँदै आएका आयातोल्लाह अली खामेनी अमेरिकी र इजरायली हवाई आक्रमणको पहिलो दिन मारिएका छन्। ८६ वर्षका खामेनीको निधनले इरानमा मात्र नभएर क्षेत्रीय राजनीतिक परिदृश्यमा समेत अनिश्चितता ल्याएको छ।
खामेनी १९३९ मा माशहदमा जन्मिएका थिए र ११ वर्षको उमेरमा धर्मशास्त्र अध्ययन गरी क्लेरिक बन्ने योग्यत हासिल गरेका थिए। उनले शाहको शासनको आलोचना गर्दै भूमिगत जीवन बिताए र जेलमा परेका थिए। १९७९ को इस्लामी क्रान्तिपछि उनी तेहरानको शुक्रबार प्रार्थना नेताका रूपमा नियुक्त भए र राजनीतिक उपदेशमार्फत आफ्नो प्रभाव विस्तार गरे।
खामेनीले १९८९ मा आयातोल्लाह खोमेनीको निधनपछि सर्वोच्च नेता बने। उनको सत्ता मजबूत बनाउन उनले सेना, प्रहरी, न्यायपालिका, सञ्चार माध्यम र धार्मिक प्रतिष्ठानमा आफ्नो विश्वस्त नेटवर्क तयार पारे। विपक्षलाई दबाउने, आन्दोलन र विरोध प्रदर्शनमा कडा कारबाही गर्ने र व्यक्तित्वको पूजा बढाउने उनको प्रमुख रणनीति थियो।
विदेश नीतिमा, खामेनीले अमेरिकासँग प्रत्यक्ष भिडन्त नगरी सावधानीपूर्वक कदम चाल्दै पश्चिमी शक्तिसँग तनावपूर्ण सम्बन्ध कायम राखे। उनले परमाणु हतियारको विकासलाई इस्लामी दृष्टिले निषेध गरे तापनि पश्चिमी देशहरूले इरानलाई गुप्त रूपमा परमाणु क्षमता विकास गर्दै आएको आरोप लगाउँदै प्रतिबन्ध लागू गरे।
आन्तरिक रूपमा, आर्थिक संकट, तेल मूल्य वृद्धि र महिला अधिकारका विरोध प्रदर्शनलाई उनले कडा सुरक्षात्मक कदमले दबाएका थिए। मानवअधिकार समूहका अनुसार, उनका शासनमा हजारौं प्रदर्शनकारी मारिएका र हजारौं पक्राउ परेका थिए।
खामेनीको निधनपछि इरानमा सत्ता उत्तराधिकारी को हुने, नीति परिवर्तन कस्तो हुने र देशको भविष्य कस्तो हुने भन्ने विषय अनिश्चित छ। ३० वर्षभन्दा लामो समयसम्म शासन गरेका उनको अनुपस्थितिले इरानी समाज र क्षेत्रीय राजनीति दुवैमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।