काठमाडौँ,
पूर्वी नेपालको आदिवासी राजवंशी समुदायमा मनाइने प्रमुख चाड ‘सिरुवा पावनी’ आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष वैशाख १, २ र ३ गते मनाइने यस पर्वलाई समुदायको सबैभन्दा ठूलो सांस्कृतिक उत्सवका रूपमा लिइन्छ।
राजवंशीसँगै ताजपुरिया र गनगाई समुदायले समेत मनाउने यस पर्वको पहिलो दिनलाई ‘जल सिरुवा’, दोस्रो दिनलाई ‘कादो सिरुवा’ र तेस्रो दिनलाई ‘रङ सिरुवा’ भनिन्छ। गौरीगञ्जका स्थानीय आत्माराम राजवंशीका अनुसार पहिलो दिन पानी छ्याप्ने, दोस्रो दिन हिलो छ्याप्ने र अन्तिम दिन अबिर लगाएर शुभकामना आदान–प्रदान गर्ने परम्परा रहिआएको छ।
सिरुवा पावनीको अवसरमा पहिलो दिन महिलाहरूले सात प्रकारका हरियो तरकारी पकाएर ‘सात सागी’ बनाउने चलन छ। त्यसलाई भोलिपल्ट कादो सिरुवाका दिन पन्ता भातसँग खाने परम्परा रहिआएको छ। साथै, अठिया केराको सेवन गर्ने प्रचलन पनि छ, जसलाई औषधीय गुणयुक्त मानिन्छ।
यस पर्वमा वर्षभरि रोगव्याधि नलागोस् भन्ने कामना गर्दै सामूहिक पूजा–पाठ गर्ने परम्परा छ। सार्वजनिक स्थानमा घाटोसरी बनाउने र भजन गाउने, ग्रामथान तथा नदी किनारमा पूजापाठ गर्ने, साथै मौलिक परिकार खाने चलनले पर्वलाई थप सांस्कृतिक बनाएको छ।
सिरुवा पावनीलाई सामाजिक सद्भाव, आपसी मेलमिलाप र सांस्कृतिक एकताको प्रतीकका रूपमा लिइन्छ। झापा, मोरङ र सुनसरीमा मुख्य रूपमा बसोबास गर्ने राजवंशी समुदायले यो पर्वलाई विशेष उत्साहका साथ मनाउने गरेका छन्। २०७८ को जनगणनाअनुसार नेपालमा राजवंशी समुदायको जनसंख्या १ लाख ३२ हजार ५६४ रहेको छ।