काठमाडौँ,
परराष्ट्रमन्त्री शिशिर खनाल आज भारतका विदेशमन्त्री एस जयशङ्कर को निमन्त्रणामा मरिससको राजधानी लुइसतर्फ प्रस्थान गर्नुहुने भएको छ। उहाँ भोलिदेखि मरिससमा आयोजना हुने नवौँ हिन्द महासागर सम्मेलन (आइओसी) मा सहभागी हुनुहुने छ।
‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ शीर्षकमा यही चैत २७ र २८ गते हुने सम्मेलन मरिसस सरकारसँगको सहकार्यमा इन्डिया फाउन्डेसनले आयोजना गर्दैछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले सम्मेलनमा नेपालको राष्ट्रिय धारणा प्रस्तुत गर्नुहुनेछ। उहाँले हिन्द महासागर क्षेत्रको शासन, पहाड–महासागर पारिस्थितिक सम्बन्ध र आर्थिक विकासका लागि समुद्री सम्पर्कको महत्वबारे नेपालको दृष्टिकोण प्रकट गर्नुहुनेछ।
सम्मेलनको क्रममा मन्त्री खनालले विभिन्न देशका समकक्षीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ। उहाँ यही चैत ३० गते स्वदेश फर्किने अपेक्षा गरिएको छ।