काठमाडौँ,
सुनसरीको बर्जु गाउँपालिका–४ बाट गैँडाको खागसहित पक्राउ परेका चार जना अभियुक्तमाथि अनुसन्धान सुरु गरिएको छ। पक्राउ परेकाहरूलाई डिभिजन वन कार्यालय सुनसरीले अनुसन्धानको दायरामा ल्याएको हो।
पक्राउ पर्नेमा बर्जु–६ का ३९ वर्षीय राजेशकुमार उराँव, ३१ वर्षीय जीवन चौधरी, बर्जु–५ का ३३ वर्षीय रविनकुमार यादव र मोरङ पथरी शनिश्चरे नगरपालिका–१ का ४० वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन्। उनीहरूलाई शुक्रबार बर्जु ताल नजिकै खागको तौल लिने क्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह वाहिनी पक्कलीबाट खटिएको टोलीले पक्राउ गरेको थियो।
पक्राउ परेका चारै जनालाई खागसहित डिभिजन वन कार्यालय सुनसरीमा बुझाइएपछि औपचारिक अनुसन्धान सुरु गरिएको डिभिजनल वन अधिकृत रितेशभूषण बस्नेतले जानकारी दिनुभयो। अनुसन्धानका लागि वैजुकुमार साहलाई अनुसन्धान अधिकृत तोकिएको छ।
डिभिजन वन कार्यालयका अनुसार बरामद गरिएको वस्तु गैँडाको खाग हो वा होइन भन्ने यकिन गर्न राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटार काठमाडौँमा पठाइएको छ। परीक्षण रिपोर्ट आएपछि सोही आधारमा कानुनी प्रक्रिया अघि बढाइने बताइएको छ।
डिभिजनल वन अधिकृत बस्नेतका अनुसार प्रारम्भिक अनुसन्धानमा यस घटनामा ठूलो गिरोहको संलग्नता रहेको आशंका गरिएको छ। खाग कहाँबाट ल्याइएको र कहाँ लैजान खोजिएको भन्ने विषयमा अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो।
पक्राउ परेकामाथि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार थप अनुसन्धान अघि बढाइने डिभिजन वन कार्यालय प्रमुख शिवनारायण मण्डलले जानकारी दिनुभयो।