नयाँ वर्षमा मिथिलामा जुडशीतलको रौनक, शीतलता र सद्भावको सन्देश

mayukarajkumari

काठमाडौँ,

विक्रम संवत् २०८३ को सुरुवातसँगै मधेसको मिथिला क्षेत्रमा जुडशीतल पर्व उल्लासपूर्वक मनाउन थालिएको छ। वैशाख १ गतेदेखि दुई दिनसम्म मनाइने यस पर्वमा कूलदेवताको पूजा गर्ने परम्परा रहिआएको छ। मिथिलाञ्चलमा नयाँ वर्षसँगै सुरु हुने यो पर्वले सांस्कृतिक र धार्मिक महत्व बोकेको छ।

यो पर्वको पहिलो दिनलाई ‘सतुवाइन’ र दोस्रो दिनलाई ‘जुडशीतल’ भनिन्छ। गर्मी मौसमको सुरुवातसँगै जीवनमा शीतलताको कामना गर्दै यो पर्व मनाइने गरिन्छ। संस्कृतिविद्हरूका अनुसार ‘जुड’ र ‘शीतल’ शब्दको संयोजनबाट बनेको यो पर्वले जीवनमा शान्ति, सन्तुलन र शीतलताको सन्देश दिन्छ।

पर्वको पहिलो दिन चना वा बदाम, जौ, मकै, गहुँ, चामल र मुँगजस्ता सात प्रकारका अन्न मिसाएर बनाइएको सातु तथा सखरको सर्वत कूलदेवतालाई अर्पण गरिन्छ। त्यसपछि कूलपुरोहित, ब्राह्मण र साधुलाई दान दिइने परम्परा छ। यस दिन सातु र सर्वत सेवन गर्ने चलनलाई ‘सतुवाइन’ भनिन्छ, जुन गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्ने विश्वास गरिन्छ।

दोस्रो दिन जुडशीतलका अवसरमा परिवारका ज्येष्ठ सदस्यले आफूभन्दा सानालाई टाउकोमा पानी सिञ्चित गरी आरोग्यता, दीर्घायु र शीतलताको आशीर्वाद दिने परम्परा छ। यस दिन दाल, मुँगको तरकारी, बरी, दहीबाट बनाइएको कढी लगायत परिकार खाने चलन रहेको छ।

जुडशीतल पर्वमा धुलो, माटो र हिलो खेल्ने परम्परालाई पनि विशेष महत्व दिइन्छ। यसले कृषिसँगको सम्बन्धलाई झल्काउनुका साथै वर्षभरि राम्रो वर्षा र कृषि उत्पादनको कामना गर्ने सन्देश दिन्छ। साथै, खेतबारीका रुखबिरुवामा पानी सिञ्चित गर्ने चलनले प्राकृतिक सन्तुलन र उत्पादनशीलताको कामना गरिएको मानिन्छ।

मधेसका मिथिला क्षेत्रका साथै भारतका सीमावर्ती जिल्लाहरूमा समेत यो पर्व समान रूपमा मनाइन्छ। आपसी सद्भाव, सहकार्य र सामाजिक एकताको सन्देश दिने यो पर्वले नयाँ वर्षको सुरुवातसँगै कृषि र प्रकृतिप्रतिको सम्मानलाई पनि उजागर गर्ने गर्दछ।

प्रतिक्रिया