गोरखामा सडक दुर्घटना : बसको ठक्करबाट वृद्धाको ज्यान गयो

mayukarajkumari

गोरखा, 

गोरखामा यात्रुबाहक बसको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ। शनिबार दिउँसो करिब २ बजे गोरखा नगरपालिका–१२ स्थित दशकिलो बजारमा भएको दुर्घटनामा स्थानीय ९५ वर्षीया सुकमाया लामाको ज्यान गएको हो।

काठमाडौँबाट गोरखातर्फ आउँदै गरेको ना ५ ख ५०३० नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी लामालाई उपचारका लागि प्रदेश अस्पताल गोरखा लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया