बेलबारी (मोरङ),
मोरङको बेलबारी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बेलबारी नगरपालिका–११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको जङ्गली हात्तीको आक्रमणमा ज्यान गएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजिव गिरीका अनुसार बिहीबार साँझ घाँसदाउरा लिएर जङ्गलबाट घर फर्कने क्रममा तामाङमाथि हात्तीले आक्रमण गरेको हो। आक्रमणपछि उनी घर नफर्किएपछि परिवार र स्थानीय बासिन्दाले खोजी कार्य सुरु गरेका थिए।
खोजी गर्ने क्रममा बेलबारी नगरपालिका–१० मा रहेको सिर्जना सामुदायिक वन क्षेत्रमा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ। उक्त स्थान पूर्व–पश्चिम राजमार्गबाट करिब दुई किलोमिटर भित्र पर्छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
06 March 2026