कञ्चनपुर,
जैविक विविधताका लागि परिचित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मा पहिलोपटक ‘मदना चाँचर’ नामक चरा अभिलेख गरिएको छ । सामान्यतया मध्यपहाडी तथा हिमाली वन क्षेत्रमा पाइने यो प्रजाति तराईको समथर भूभागमा देखिनुलाई संरक्षणविद्हरूले महत्त्वपूर्ण घटनाका रूपमा लिएका छन् ।
निकुञ्जमा चरा अवलोकनका क्रममा नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा सहित दिलीप चन्द ठकुरी, सुमन चौधरी र डा. विकल्प पाण्डेको टोलीले उक्त चरालाई पहिलोपटक अभिलेख गरेको हो । ‘मदना चाँचर’ थ्रस (चाँचर) परिवारमा पर्ने चरा हो, जसको वैज्ञानिक नाम टर्डस बुबुल रहेको छ ।
अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आयुसिएन) ले यस प्रजातिलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ श्रेणीमा राखे पनि शुक्लाफाँटाका लागि भने यो नयाँ तथा स्थानीय रूपमा दुर्लभ प्रजाति भएको चराविज्ञहरूले बताएका छन् ।
चराविज्ञ डगौराका अनुसार यो चरा प्रायः १८०० देखि २७०० मिटर उचाइका आद्र्र मध्यपहाडी तथा हिमाली वनमा बस्ने गर्छ र जाडोयाममा केही तल झर्ने प्रवृत्ति देखिन्छ । तराई क्षेत्रमा यसको उपस्थिति असामान्य मानिने भएकाले यसले वातावरणीय अवस्था वा बसाइँसराइको ढाँचामा परिवर्तन भएको संकेत गर्न सक्ने उनले बताए ।
करिब २८–२९ सेन्टिमिटर लम्बाइको मदना चाँचरमा भाले चरा कालो रङको भई पखेटामा खैरो दाग देखिन्छ भने पोथी चरा खैरो रङको हुन्छ । भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुने विशेषता रहेको छ ।
विशेषज्ञहरूका अनुसार नेपालदेखि उत्तरी भियतनामसम्मका पहाडी क्षेत्रमा सीमित मानिने यो चरा तराईमा देखिनु जलवायु परिवर्तन वा पारिस्थितिक प्रणालीमा भइरहेको फेरबदलको संकेत हुन सक्छ । नयाँ प्रजाति अभिलेख भएसँगै शुक्लाफाँटामा पाइने चराको सङ्ख्या थप बढेको छ भने यसले निकुञ्जलाई चरा अवलोकन तथा वैज्ञानिक अनुसन्धानका लागि अझ आकर्षक गन्तव्य बनाउने विश्वास गरिएको छ ।