पश्चिमी युक्रेनमा विस्फोट, एक प्रहरीको मृत्यु र २५ जना घाइते

mayukarajkumari

युक्रेन

युक्रेनको पश्चिमी सहर ल्भिभ मा भएको विस्फोटमा एक प्रहरी अधिकृतको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूले घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएका छन्। प्रहरीका अनुसार आइतबार मध्यरातपछि चोरीको सूचना पाएर पुगेका प्रहरी टोलीलाई लक्षित गर्दै फोहोर राख्ने डस्टबिनमा राखिएका घरेलु विस्फोटक पदार्थ विस्फोट गराइएको थियो।

आक्रमणमा मृत्यु हुने प्रहरी २३ वर्षीया विक्टोरिया श्पिल्का रहेको पुष्टि गरिएको छ। घटनामा घाइतेमध्ये ११ जनालाई अस्पताल भर्ना गरिएको छ, जसमा छ जना सुरक्षाकर्मी गम्भीर अवस्थामै रहेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की ले आक्रमणमा संलग्न आशंकित व्यक्तिलाई पक्राउ गरिएको जानकारी दिएका छन्।

प्रहरीले ३३ वर्षीया एक महिलाले रुसको विशेष सुरक्षा सेवासँग सम्बन्धित एजेन्टको निर्देशनमा विस्फोटक तयार गरी राखेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ। आन्तरिक मामिला मन्त्री इहोर क्लिमेन्को ले घटनामा संलग्न अन्य व्यक्तिको खोजी भइरहेको बताएका छन्।

यसैबीच, रुस–युक्रेन युद्धको चौथो वर्षगाँठ नजिकिँदै गर्दा युक्रेनमाथि रुसले पुनः हवाई आक्रमण गरेको छ। राजधानी क्षेत्र किभ लगायत विभिन्न स्थानमा मिसाइल र ड्रोन आक्रमण भएको बताइएको छ। युक्रेनले अधिकांश आक्रमण रोकिएको दाबी गरे पनि कम्तीमा एक जनाको मृत्यु भएको र केही सर्वसाधारण घाइते भएका छन्।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन को आदेशमा सुरु भएको पूर्णस्तरीय आक्रमणपछि जारी युद्ध दोस्रो विश्वयुद्धपछि युरोपकै सबैभन्दा ठूलो युद्धका रूपमा हेरिएको छ। हाल रुसले युक्रेनको करिब २० प्रतिशत भूभाग नियन्त्रणमा राखेको बताइएको छ।

प्रतिक्रिया