नयाँ वर्ष २०८३ को स्वागत, देशभर उत्सवमय वातावरण

mayukarajkumari

काठमाडौँ,

आजदेखि विक्रम संवत् २०८३ को औपचारिक सुरुवात भएको छ। नयाँ वर्षलाई नयाँ उमङ्ग, उत्साह र नयाँ सुरुआतको प्रतीकका रूपमा लिँदै देशभर शुभकामना आदानप्रदानसहित हर्षोल्लासपूर्वक मनाइँदैछ।

नेपालमा वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउने परम्परा रहिआएको छ। विक्रम संवत् संसारकै प्राचीन संवत्मध्ये एक मानिन्छ र सोही संवत्को आज पहिलो दिन हो। विश्वका विभिन्न देशमा आ–आफ्नै शैलीमा नयाँ वर्ष मनाउने चलन रहे पनि नेपालमा यस दिन विशेष उत्सवको रूपमा मनाइन्छ।

आज सूर्यले मीन राशिको यात्रा समाप्त गरी मेष राशिमा प्रवेश गर्ने दिन भएकाले यसलाई मेष सङ्क्रान्ति पनि भनिन्छ। सूर्यको गतिसँग सम्बन्धित भएकाले विक्रम संवत् वैज्ञानिक र शाश्वत मानिएको जानकारहरूको भनाइ छ।

नयाँ वर्षको दिनलाई आत्ममूल्याङ्कन र नयाँ सङ्कल्प गर्ने अवसरका रूपमा पनि लिने गरिन्छ। मानिसहरूले गत वर्षका सफलता र असफलताको समीक्षा गर्दै आगामी दिनमा सुधार र प्रगतिको योजना बनाउने गर्दछन्।

यस अवसरमा बिहानै स्नान गर्ने, घरआँगन सफा गर्ने, मठमन्दिरमा पूजा–आराधना गर्ने, मिठा परिकार खाने तथा आफन्त, साथीभाइसँग भेटघाट गरी शुभकामना साटासाट गर्ने परम्परा छ। देश–विदेशमा रहेका नेपालीहरूले पनि आजको दिनलाई विशेष उत्सवका रूपमा मनाउने गरेका छन्।

भक्तपुरमा आज बिस्का जात्रा मनाइँदैछ भने तराई क्षेत्रमा सहलेश फूल फुल्ने भएकाले यसको सांस्कृतिक महत्व अझ बढेको छ।

नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना सन्देश दिँदै नेपाली जनतामा उन्नति, प्रगति र समृद्धिको कामना व्यक्त गरेका छन्।

प्रतिक्रिया