विभिन्न जिल्लाबाट लागूऔषधसहित पाँच जना नियन्त्रणमा

mayukarajkumari

काठमाडौं,

देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। बर्दिया, झापा, सुनसरी र दाङ जिल्लाका अलग–अलग स्थानबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

बर्दियाको गुलरिया नगरपालिका–११ गणेशपुरबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम ७७० मिलिग्रामसहित मधुबन नगरपालिका–७ शुक्रबस्तीका २६ वर्षीय गौरब पुन मगरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी महम्दपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै झापाको कमल गाउँपालिका–६ गुवाबारीबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४४० मिलिग्रामसहित सोही स्थानका ३२ वर्षीय लक्ष्मण राजवंशीलाई सोमबार दिउँसो पक्राउ गरिएको छ। दमकस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मे.११प ६०५० नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको हो।

यसैगरी सुनसरीको इनरुवा नगरपालिका–४ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३५ ग्राम २१० मिलिग्रामसहित दुई जनालाई सोमबार साँझ पक्राउ गरिएको छ। पक्राउ पर्नेमा इटहरी उपमहानगरपालिका–१८ का २९ वर्षीय जेम्स राई र इटहरी–१७ का २९ वर्षीय सिद्धार्थ चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको टोलीले लौकहीबाट पकलीतर्फ जाँदै गरेको को ३१ प ३२५५ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

त्यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका–५ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५३० मिलिग्रामसहित १८ वर्षीय एक किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको टोलीले उनलाई उक्त पदार्थसहित नियन्त्रणमा लिएको हो। प्रहरीले उनले प्रयोग गरेको बा.७६ प १७१७ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया