काठमाडौँ,
प्रतिनिधिसभा निर्वाचनसँग सम्बन्धित आचारसंहिता उल्लङ्घनका विषयमा जिल्ला आचारसंहिता अनुगमन समिति र अनुगमन अधिकृतसमक्ष कूल एक हजार ७६ उजुरी परेका छन्। निर्वाचन आयोगका अनुसार तीमध्ये एक हजार ६१ उजुरी अर्थात् करिब ९९ प्रतिशत उजुरी फछ्र्यौट भइसकेका छन्।
प्रदेशगत रूपमा सबैभन्दा बढी उजुरी लुम्बिनी प्रदेशमा २४४ वटा दर्ता भएका छन् भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ९६ उजुरी परेका आयोगले जनाएको छ। प्राप्त उजुरीमध्ये ९७ लिखित रूपमा र ९७९ उजुरी टेलिफोन, एसएमएस तथा अन्य माध्यमबाट प्राप्त भएका थिए।
आयोगका अनुसार अधिकांश उजुरी तोकिएको मापदण्डभन्दा ठूला तुल, ब्यानर र झण्डा प्रयोगसँग सम्बन्धित छन्। साथै सामाजिक सञ्जालको दुरुपयोग, डिजे तथा माइक प्रयोग गरी ध्वनि प्रदूषण गरेको विषयमा पनि गुनासा दर्ता भएका छन्।
यसैगरी शिक्षक, कर्मचारी तथा स्थानीय जनप्रतिनिधि निर्वाचन प्रचारप्रसारमा संलग्न भएको, सार्वजनिक स्थान र सवारीसाधनमा झण्डा टाँगिएको तथा अनुमति नलिई सवारी साधन प्रयोग गरिएको लगायतका विषयमा समेत उजुरी परेको आयोगले जनाएको छ।