काठमाडौँ,
खोटाङमा २७ वर्षीया रेश्मिका परियारको बलात्कारपछि हत्या भएको घटनाको निष्पक्ष छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ। दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी परियारको हत्या प्रकरणमा संयुक्त दलित सङ्घर्ष समिति र दलित महिला अभियान नेपालले दोषीलाई तत्काल कानुनी कठघरामा उभ्याउन आग्रह गरेका छन्। उनीहरूले घटनाको गम्भीरताअनुसार छानबिन प्रक्रियालाई तीव्र र प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
जिल्ला प्रशासन कार्यालय खोटाङमा बुधबार बुझाइएको ज्ञापनपत्रमा अनुसन्धानमा ढिलासुस्ती भएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ। प्रमुख प्रशासकीय अधिकृत शम्शेरबहादुर राईले दोषीलाई शीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन माग गरिएको जानकारी दिनुभयो। ज्ञापनपत्रमार्फत घटनाको सत्यतथ्य पत्ता लगाउन उच्चस्तरीय छानबिन समिति गठन आवश्यक रहेको उल्लेख गरिएको छ।
गत भदौ ३० गते साँझ पञ्चमी बजारस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थाबाट घर फर्कने क्रममा परियारको हत्या भएको थियो। मार्से सामुदायिक वनको ह्याकुलेस्थित रमिते भन्ने स्थानमा उनको शव सोही राति फेला परेको थियो। प्रारम्भिक अनुसन्धानले सामूहिक बलात्कारपछि हत्या गरिएको संकेत गरे पनि हालसम्म संलग्न अभियुक्त पक्राउ नपरेको भन्दै पीडित परिवार र अधिकारकर्मीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
संयुक्त दलित सङ्घर्ष समिति खोटाङका अध्यक्ष दीपक ठटालले आरोपितहरू खुलेआम हिँडिरहेकाले पीडित परिवारमा असुरक्षाको भावना बढेको बताउनुभयो। उनले परिवारलाई तत्काल सुरक्षा प्रदान गर्न र दोषीलाई नियन्त्रणमा लिन प्रशासनसँग माग गरेका छन्।
त्यस्तै, दलित महिला अभियान नेपालकी केन्द्रीय कोषाध्यक्ष सरस्वती रामदाम विश्वकर्माले बलात्कारपछि हत्याजस्तो जघन्य अपराधको निष्पक्ष र सूक्ष्म अनुसन्धानका लागि दबाबरहित वातावरण आवश्यक रहेको बताउनुभयो। उनले उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरिएको जानकारी दिनुभयो।