काठमाडौँ,
मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच विभिन्न राजनीतिक दलका नेताहरूले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली नागरिकको सुरक्षामा कुनै असर पर्न नदिन प्रभावकारी व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
इरानमाथि अमेरिका र इजरायलबाट भएका आक्रमण तथा त्यसपछिका घटनाक्रमले मध्यपूर्व क्षेत्रमा गम्भीर अवस्था सिर्जना भएको उल्लेख गर्दै संयोजक दाहालले यस परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले मध्यपूर्वमा कार्यरत लाखौँ नेपालीको सुरक्षा प्रमुख प्राथमिकता भएको बताउँदै विकसित घटनाको प्रत्यक्ष असर नेपाली नागरिकमा पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन, आवश्यक कूटनीतिक पहल गर्न तथा सुरक्षाका प्रभावकारी उपाय अवलम्बन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
पूर्वसभामुख देवराज घिमिरेले पनि द्वन्द्वग्रस्त देशहरूमा रहेका नेपाली दूतावासलाई त्यहाँ रहेका नेपाली नागरिकको अवस्था निरन्तर अनुगमन गर्न, आवश्यक परे आपत्कालीन सहायता तथा उद्धारको तयारी अवस्थामा रहन र सूचना प्रवाह प्रभावकारी बनाउन अनुरोध गर्नुभएको छ । संयुक्त अरब इमिरेट्स, इजरायल, इरान, कतार, साउदी अरब र कुवेतलगायत देशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति थप संवेदनशील बन्नुपर्ने उहाँको भनाइ छ । साथै विशेष परिस्थितिमा नेपाली नागरिकलाई सजग रहन, स्थानीय प्रशासनको निर्देशन पालना गर्न तथा जोखिमयुक्त स्थानबाट टाढा रहन आग्रह गरिएको छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय स्वतन्त्र पार्टीका अन्तरराष्ट्रिय विभाग प्रमुख शिशिर खनालले पनि विज्ञप्तिमार्फत नेपाली नागरिकको सुरक्षा सरकारको सर्वोपरी दायित्व भएको उल्लेख गर्दै सम्भावित आकस्मिक अवस्थालाई ध्यानमा राखी कूटनीतिक समन्वय र पूर्वतयारी सुदृढ गर्न आग्रह गर्नुभएको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मध्यपूर्वको तनावपूर्ण परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै त्यहाँ रहेका नेपालीको सुरक्षालाई केन्द्रमा राखेर उच्च सतर्कता अपनाउन सरकारसँग माग गर्नुभएको छ ।