भक्तपुर,
सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का (बिस्काः) जात्रा आजदेखि भक्तपुरमा सुरु भएको छ। साँझ तमारीस्थित पाँचतल्ले मन्दिर अगाडिबाट भद्रकालीको रथलाई घट्खा टोलतर्फ लैजाँदै भैरवनाथको रथ (भैलखः) तानातान गरी जात्राको औपचारिक सुरुआत गरिएको हो। अब भक्तपुर नौ दिन आठ रातसम्म जात्रामय बन्नेछ।
परम्पराअनुसार काठबाट बनेको तीनतल्ले प्यागोडा शैलीको भैलखःमा भैरवनाथ र बेताल देवतालाई विराजमान गराई थने (माथिल्लो) र क्वने (तल्लो) टोलका बासिन्दाले रथ तान्ने गर्छन्। पहिलो दिन रथलाई अगाडि पाँच र पछाडि चार डोरीले तानेर आ–आफ्नो क्षेत्रमा लैजाने चलन छ, जसलाई जात्राको मुख्य आकर्षण मानिन्छ।
जात्राको क्रममा भैलखः तान्ने परम्परागत मार्ग क्वनेतर्फ तमारी, बुलुँचा, घट्खा, नासमना हुँदै तेखापुखुसम्म र थनेतर्फ क्वाछें, साकोठा, सुकुलढोका हुँदै दत्तात्रयसम्म रहेको छ। तेस्रो दिन गःहिटीमा भैरवनाथलाई राँगो बलि चढाई गुठी संस्थानबाट सरकारी पूजा गरिन्छ भने प्रसाद ‘स्याःक्वःत्याःक्वः’ का रूपमा स्थानीयलाई वितरण गरिन्छ।
चौथो दिन कुमाले टोलमा ल्हामरु म्ह यसींद्योः उभ्याउने तथा साँझ भेलुखेलको ल्यसिङखेलमा ५५ हात लामो लिङ्गो ठड्याउने गरिन्छ, जुन पुरानो वर्षको विदाइ र नयाँ वर्षको स्वागतको प्रतीक मानिन्छ। यसींद्योःमा बाँधिएका ध्वजालाई वीरध्वजा र विश्वध्वजा भनिन्छ।
नयाँ वर्ष वैशाख १ गते पाँचौँ दिन भक्तजनहरू चुपिङघाट र ल्यसिङखेलमा भेला भई भैरव, भद्रकाली, बेताल र यसींद्योःको दर्शनपूजा गर्छन्। सोही दिन साँझ यसींद्योः ढाल्ने र भैलखः तथा भद्रकालीका रथ जुधाई ‘द्योः ल्वाकिगु’ जात्रा मनाइन्छ।
जात्राको छैटौँदेखि आठौँ दिनसम्म महाकाली, महालक्ष्मी, ब्रम्हायणी, महेश्वरीलगायत विभिन्न देवीदेवताका जात्रा तथा सिन्दूर जात्रा सञ्चालन हुन्छन्। अन्तिम दिन पुनः भैलखः तानातान गर्दै जात्रा समापन गरिन्छ।
संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार बिस्का जात्राको ऐतिहासिक नाम ‘विश्वजात्रा’ रहेको अभिलेखहरूमा उल्लेख छ। उहाँले प्रचलित नागनागिनीसम्बन्धी किंवदन्तीलाई भ्रमपूर्ण बताउँदै यो जात्रा भैरवनाथ र भद्रकालीसँग सम्बन्धित भएको स्पष्ट पार्नुभयो।
यस वर्ष जात्रालाई सुरक्षित र व्यवस्थित बनाउन करिब दुई हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। सम्भावित झडप रोक्न दिनको समयमा रथ तान्ने व्यवस्था गरिएको छ भने चोक–चोकमा सिसी क्यामेरा जडान गरिएको छ। हुलदङ्गा गर्ने तथा उच्छृङ्खल गतिविधिमा संलग्नलाई पहिचान गरी कारबाही गरिने प्रशासनले जनाएको छ।
साथै, रथमा अनियन्त्रित भीड नियन्त्रण गर्न सीमित व्यक्तिलाई मात्र चढ्न अनुमति दिइएको छ र रथमा चढ्नेले नाङ्गो खुट्टा रहनुपर्ने व्यवस्था गरिएको छ।