तस्करी नियन्त्रणबारे गृहमन्त्री र सांसदबीच छलफल

mayukarajkumari

काठमाडौँ,

सीमापार अपराध तथा तस्करी नियन्त्रणलाई प्रभावकारी बनाउने विषयमा गृहमन्त्री सुधन गुरुङ र मधेस तथा लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसदबीच छलफल भएको छ। शुक्रबार गृह मन्त्रालयमा आयोजित उक्त बैठकमा सीमा क्षेत्रमा बढ्दो तस्करी नियन्त्रणका उपायबारे गम्भीर रूपमा विचार–विमर्श गरिएको थियो।

छलफलका क्रममा सांसदहरूले सीमा क्षेत्रमा हुने तस्करीलाई कडाइका साथ नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराउँदै विभिन्न सुझाव प्रस्तुत गरेका थिए। उनीहरूले विद्यमान भन्सार प्रणालीमा सुधार, भन्सार दर पुनरावलोकन, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्नुपर्नेमा जोड दिएका थिए। साथै, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्न र सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य वस्तु आयातमा निश्चित सीमा तोकी भन्सार छुट दिनुपर्ने प्रस्ताव पनि राखिएको थियो।

बैठकमा उठेका विषयहरूमध्ये गृह मन्त्रालयसँग सम्बन्धित मुद्दा कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गरी समाधान खोज्ने सहमतिसहित छलफल सम्पन्न भएको जनाइएको छ।

प्रतिक्रिया