तुलसीपुर (दाङ),
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मतदान केन्द्रहरू अपाङ्गमैत्री नहुँदा अपाङ्गता भएका मतदाताहरूले समस्या भोग्नुपर्ने अवस्था रहेको छ। राप्ती बहिरा सङ्घ दाङका अध्यक्ष अजय शर्माले विगतका मतदानहरूमा पनि यस्तो समस्या देखिएको उल्लेख गर्दै, आगामी निर्वाचनमा सबै मतदान केन्द्रहरू सहज र अपाङ्गमैत्री बनाउनुपर्ने आग्रह गर्नुभएको छ। उहाँका अनुसार, मतदान टेबलहरू अग्ला हुँदा होचा वा शारीरिक रूपले कमजोर मतदाताले मदतान गर्न कठिनाई अनुभव गर्ने गरेको छ।
त्यस्तै, मतदान केन्द्रहरूमा दोभाषे सुविधा नहुँदा अपाङ्ग मतदाताहरूले प्रक्रियालाई बुझ्न गाह्रो हुने गरेको शर्माले बताउनुभयो। “होचा व्यक्तिलाई अग्ला टेबलमा पुग्न पनि कठिन हुन्छ, जसले गर्दा भोट अर्को व्यक्तिसँग मिल्ने अवस्था सिर्जना हुन सक्छ,” उहाँले भन्नुभयो। अपाङ्गता भएका व्यक्तिहरू सहजै मतदान केन्द्र पुग्न पनि नसक्ने अवस्था रहेको भन्दै, यसलाई ध्यानमा राखेर आवश्यक व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ छ।
अपाङ्गता भएका व्यक्तिलाई भोट दिने अधिकारमा बाधा पुर्याउने तर राजनीतिक रूपमा उनीहरूलाई भोट बैंक मान्ने प्रवृत्तिले समस्या बढाएको शर्माले औँल्याउनुभयो। यसैगरी दृष्टिविहीन शिक्षक रामबहादुर खड्काले पनि निर्वाचनमा अपाङ्ग व्यक्तिहरूलाई विभेद गर्ने अभ्यास भइरहेको गुनासो गर्नुभयो। उहाँले भने, “गत वर्ष एक जना शिक्षकलाई निर्वाचनको कामका लागि छनोट गरिएको भए पनि काम गर्न नसक्ने भन्दै फर्काइएको थियो।”
उभय व्यक्तिहरूले निर्वाचन आयोगसँग अपाङ्गता भएका मतदाताका लागि मतदान केन्द्रमा पहुँच, सहजता र आवश्यक व्यवस्था सुनिश्चित गर्न आग्रह गरेका छन्, ताकि लोकतान्त्रिक प्रक्रियामा सबैको सहभागिता समान रूपमा सुनिश्चित होस्।