त्रिभुवन, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयबीच प्राज्ञिक सहकार्य समझदारीपत्रमा हस्ताक्षर

mayukarajkumari

काठमाडौँ,

सुदूरपश्चिम विश्वविद्यालय
मा बुधबार त्रिभुवन विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयबीच अध्ययन, अनुसन्धान र प्राज्ञिक सहकार्यका लागि त्रिपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ। यो अवसरमा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारी पनि उपस्थित थिए।

समझदारीपत्रमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्त, त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्याल र मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति ध्रुवकुमार गौतम ले हस्ताक्षर गर्नुभएको हो।

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालयका रजिष्ट्रार विनोद लेखक ले यो समझदारीले विश्वविद्यालयबीचको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार “उच्च प्राज्ञिक जनशक्तिको अभावलाई डिजिटल माध्यमबाट पूर्ति गर्दै दक्ष जनशक्ति व्यवस्थापनमा यो सम्झौता कोशेढुङ्गा सावित हुनेछ। यो समझदारीले शिक्षक तथा विद्यार्थीहरूको अध्ययन र अनुसन्धान कार्यलाई थप सहज र प्रभावकारी बनाउने अपेक्षा छ।”

समझदारीअनुसार तीन विश्वविद्यालयबीच शैक्षिक स्रोत, अनुसन्धान, प्रविधि र अनुभव आदानप्रदानलाई संस्थागत गर्ने लक्ष्य राखिएको छ। विशेषगरी डिजिटल प्लेटफर्ममार्फत संयुक्त कक्षा सञ्चालन, अनुसन्धान सहकार्य र प्राध्यापकहरूको साझा उपयोगजस्ता कार्यक्रम अघि बढाइने छ। विश्वविद्यालयले जनाएको छ कि यस सहकार्यले उच्च शिक्षामा गुणस्तरवृद्धि, स्रोतको प्रभावकारी उपयोग र आधुनिक प्रविधिमा आधारित शिक्षण प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया