म्याग्दी (बेनी),
म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा सयौँ वर्ष पुरानो परम्पराअनुसार भूमे पूजा सम्पन्न गरिएको छ। आधुनिकताको प्रभावले मौलिक कला र संस्कृति हराउँदै गएको अवस्थामा चिमखोलावासीले भने यस पर्वलाई परम्परागत शैलीमै निरन्तरता दिएका छन्।
हरेक वर्ष चैत महिनाको उजेली मङ्गलबार सेवाङ्ग धुरीस्थित भूमे थानमा विधिपूर्वक पूजा गर्ने चलन छ। पूजा सम्पन्न भएपछि स्थानीयले देवतालाई खुसी पार्न मोसो र छ्याङका छोक्रा एकअर्कामा दल्दै नाचगान गर्ने परम्परा रहेको वडाध्यक्ष थकप्रसाद पाइजाले जानकारी दिनुभयो।
उहाँका अनुसार पुर्खादेखि चल्दै आएको परम्परालाई अहिले पनि निरन्तरता दिइएको छ। भूमे थानमा पुन थरका पुजारीले पूजा सञ्चालन गर्ने र यसमा सहभागी हुन देश–विदेशमा रहेका चिमखोलावासीसहित छिमेकी गाउँबाट ठूलो सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका छन्।
भूमे पूजामा सयौँ स्थानीय सहभागी भएका थिए। पूजा क्रममा सेदो भाकामा गीत गाएर देवीदेवताहरूलाई पुकार्ने परम्परा पनि कायम राखिएको छ। यस वर्ष ज्येष्ठ नागरिक लबहादुर पुन र बहादुर तिलिजाले सेदो भाकाको प्रस्तुति दिएका थिए।
पूजापछि भूमे देवतालाई साँढेको बलि दिइन्छ भने छेमा र पुजारीले तयार पारेको जाँड चढाउने चलन छ। त्यसपछि सहभागीहरूले छ्याङ सेवन गर्दै मोसो दल्दै नाचगान गर्ने परम्परा रहेको स्थानीय ध्रुवकुमार पाइजाले बताउनुभयो। प्राकृतिक विपद् टार्न र राम्रो बालीको कामनासहित भूमे पूजा गर्ने विश्वास रहेको छ।
भूमे पूजाको तयारीका लागि एक महिनाअघि गाउँभेलाबाट छेमा चयन गरी प्रत्येक घरबाट कोदो, चामल र नगद सङ्कलन गरिन्छ। त्यसबाट बनाइएको छ्याङ पूजा दिन भूमे थानमा चढाएर सामूहिक रूपमा सेवन गर्ने गरिन्छ। पूजा सम्पन्न भएपछि पुख्र्यौली सेदो गीत गाउँदै थान परिसरका चुला उठाउने चलन छ।
गाउँ फर्किने क्रममा पञ्चेबाजा, सेदो भाका र साइलो भाकामा दोहोरी गाएर नाचगान गर्ने गरिन्छ। स्थानीय मण्डली युवा क्लबले ज्येष्ठ नागरिक, समाजसेवी र अगुवाहरूलाई काँधमा बोकेर सम्मान गर्ने परम्परा पनि रहेको छ भने हिमालयन आमा समूहले फूलमालाले स्वागत गर्छन्।
भूमे पूजाको अवसरमा चिमखोलामा परम्परागत मेला पनि लाग्ने गरेको छ। मेलामा टोपा नाच, जुरेचल्ला, दुलहादुलहीको कलस जुँधाउने नाच र थाली नाचलगायतका मौलिक कला प्रदर्शन गरिन्छ। साथै मण्डली थान र ताप्केभेरा थानमा समेत विशेष पूजा गरिएको छ। भाकल पूरा हुने विश्वासका कारण पछिल्लो समय विभिन्न स्थानबाट भक्तजनहरूको आगमन बढ्दै गएको छ।