आजदेखि असनमा हरेक शनिबार सवारीसाधन निषेध कार्यक्रम सुरु

mayukarajkumari

काठमाडौँ,

काठमाडौँ महानगरपालिकाले ऐतिहासिक र प्राचीन सहरी बस्ती असनको मौलिकता संरक्षण गर्ने उद्देश्यले आजदेखि ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु गरेको छ। यसअन्तर्गत हरेक शनिबार असन क्षेत्रमा सवारीसाधन प्रवेश पूर्ण रूपमा निषेध गरिनेछ।

महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलका अनुसार कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असन, भोटाहिटीदेखि असन र महाबौद्धदेखि असनसम्मका क्षेत्रहरूमा लागू हुनेछ। उहाँले असनको सांस्कृतिक पहिचान र परम्परागत जीवनशैली जोगाउन यो कार्यक्रम महत्वपूर्ण हुने बताउनुभयो।

काठमाडौँ महानगरले आफ्नो क्षेत्रभित्रका मूर्त, अमूर्त तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनलाई प्राथमिकता दिँदै आएको छ। महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार सवारीसाधनको अत्यधिक चापका कारण भित्री सहरमा व्यवस्थापन चुनौती बढेकाले मौलिक सांस्कृतिक जीवनशैली जोगाउन यस्तो कार्यक्रम आवश्यक भएको हो।

शनिबार असन क्षेत्रमा विभिन्न सांस्कृतिक गतिविधिहरू पनि सञ्चालन हुनेछन्। यसमा स्थानीय रैथाने ज्ञान तथा सीपको प्रदर्शनी, गायन, वादन, नृत्य तथा परम्परागत व्यापारिक गतिविधिहरू प्रदर्शन गरिनेछ। यसले असनको जीवन्त सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रमका क्रममा जमल, भोटाहिटी, वीर अस्पताल क्षेत्र, वटु गणेश, इन्द्रचोक लगायत विभिन्न स्थानबाट असनतर्फ सवारी प्रवेश रोक लगाइनेछ। सवारीधनीहरूले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्नेछ भने आगन्तुकहरूले धरहरा भूमिगत पार्किङ, जमल बहाल, दरबार हाईस्कुललगायत स्थानमा सवारी राखेर पैदलै असन प्रवेश गर्नुपर्नेछ।

प्रतिक्रिया