काठमाडौँ,
खाद्यान्न तथा फलफूल व्यवसाय सञ्चालन गर्ने फर्महरूमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन तीव्र बनाएको छ। निर्वाचनको समयमा बजारमा हुन सक्ने गैरकानुनी गतिविधि नियन्त्रण गर्नुका साथै उपभोक्ताको अधिकार संरक्षण गर्ने उद्देश्यले विभागले एकैदिन २६ वटा फर्ममा अनुगमन गरेको हो।
विभागले विशेषगरी खाद्यान्न र फलफूल बिक्री गर्ने व्यवसायहरूमा केन्द्रित भएर अनुगमन गर्दै कानुनको पूर्ण पालना गर्न व्यवसायीहरूलाई आग्रह गरेको जनाएको छ। निर्वाचनलाई बहाना बनाएर खाद्यवस्तु लुकाउने, कालोबजारी गर्ने तथा तोकिएकोभन्दा बढी मूल्य असुल गर्ने गुनासो आएपछि विभाग थप सक्रिय भएको हो।
सोमबार कुलेश्वर क्षेत्रमा गरिएको अनुगमनका क्रममा कैफियत भेटिएपछि रमेश फ्रुट ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। अन्य २५ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले जनाएको छ।
स्थानीय जनप्रतिनिधि, उपभोक्ता अधिकारकर्मी तथा सम्बन्धित सरोकारवालाको उपस्थितिमा विभागले बजार अनुगमन अभियान सञ्चालन गर्दै आएको जनाएको छ।