काठमाडौँ
शेर्पा समुदायले आज नयाँ वर्षका रूपमा मनाइने ग्याल्पो ल्होसार पर्व विभिन्न सांस्कृतिक तथा धार्मिक कार्यक्रम आयोजना गरी मनाइरहेका छन्। ‘ल्हो’ अर्थात् वर्ष र ‘छार’ अर्थात् नयाँ भन्ने अर्थ रहने यो पर्व शेर्पा समुदायको महत्वपूर्ण सांस्कृतिक चाडका रूपमा परिचित छ।
पर्वको अवसरमा समुदायका सदस्यहरूले गाउँघर, टोल तथा सार्वजनिक स्थानका बाटोघाटो र पानीका मूलहरूको सरसफाइ गर्ने परम्परा रहेको छ। साथै, नौ प्रकारका अन्न मिसाएर बनाइने गुथुक, खाप्से लगायतका परिकार सेवन गर्दै आपसमा शुभकामना आदानप्रदान गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ। यस पर्वलाई पारिवारिक तथा सामाजिक सम्बन्ध सुदृढ बनाउने अवसरका रूपमा लिने गरिन्छ।
नेपालका हिमाली भेगमा बसोबास गर्ने शेर्पा समुदाय तथा महायान बौद्ध परम्परामा चन्द्रमासको गणनाअनुसार फागुन शुक्लपक्ष प्रतिपदाका दिन नयाँ वर्ष सुरु हुने विश्वाससहित ग्याल्पो ल्होसार मनाइन्छ। पर्वका अवसरमा स्याब्रु नृत्य, तुङ्गना (डम्याङ)को मधुर धुन तथा सामूहिक सांस्कृतिक कार्यक्रमले उत्सवलाई थप उल्लासमय बनाउने गर्दछ।
नयाँ वर्षको प्रतीकका रूपमा मनाइने यस पर्वले समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र एकताको भावना मजबुत बनाउने विश्वास गरिएको छ। साथै, परिवार, मित्र तथा समुदायबीचको सम्बन्ध अझ घनिष्ठ बनाउँदै सहकार्य र समझदारीको वातावरण सिर्जना गर्ने पर्वका रूपमा पनि ग्याल्पो ल्होसारलाई लिइन्छ।
यस अवसरमा गुम्बा दर्शन गर्ने, धर्मगुरु तथा लामाबाट आशिर्वाद लिने, खाप्से, डेशिल र गुथुकजस्ता विशेष परिकारको स्वाद लिनु तथा परिवारसँग मिलेर उल्लासपूर्वक समय बिताउने परम्परा नेपाली सांस्कृतिक पहिचानसँग जोडिएको छ।