काठमाडौं,
आज विश्व अटिजम सचेतना दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै छ। अटिजम मस्तिष्क विकाससँग सम्बन्धित अवस्था हो, जसमा व्यक्तिको व्यवहार, बोल्ने तथा सोच्ने शैली सामान्यभन्दा फरक हुने गर्दछ।
अटिजम भएका व्यक्तिहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००७ देखि यो दिवस मनाउन थालिएको हो। यस वर्ष पनि राष्ट्रसङ्घले अटिजम भएका व्यक्तिको योगदानलाई सम्मान गर्दै उनीहरूको अधिकारको संरक्षण गर्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ।
यस अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सन्देश जारी गर्दै अटिजम भएका व्यक्तिहरूका मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभएको छ। उहाँले समाजमा उनीहरूको समान र सक्रिय सहभागिता सुनिश्चित गर्न सबैले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ।