नवलपुर (नवलपरासी),
वन्यजन्तु संरक्षण गर्ने उद्देश्यले चितवन राष्ट्रिय निकुञ्ज मा कृत्रिम ताल निर्माण गरिएको छ। सुक्खायाममा प्राकृतिक तालतलैया सुक्दै जाने समस्या बढ्दै गएपछि निकुञ्जले विभिन्न दाताको सहयोगमा कृत्रिम जलस्रोत विस्तार गर्ने काम अघि बढाएको हो।
विसं २०३० असोज ४ गते स्थापना भएको उक्त निकुञ्ज बाघ, हात्ती, एकसिङ्गे गैँडालगायत दुर्लभ वन्यजन्तुको प्रमुख बासस्थानका रूपमा परिचित छ। वन्यजन्तुलाई पनि आहारसँगै पानीको आवश्यकता पर्ने भएकाले सुक्खायाममा पानीको अभाव पूर्ति गर्न कृत्रिम ताल निर्माण गरिएको निकुञ्जले जनाएको छ। पछिल्लो समय घाँसेमैदान र सिमसार क्षेत्र क्रमशः घट्दै जाँदा वन्यजन्तु संरक्षणमा चुनौती थपिँदै गएको छ।
निकुञ्जले चालु आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सुखीभार पोस्ट नजिकै सौर्य ऊर्जायुक्त कृत्रिम ताल निर्माण गरेको हो। ९७ मिटर लम्बाइ र २५ मिटर चौडाइको उक्त तालमा नजिकै रहेको खोल्सोबाट सोलार बोरिङमार्फत पानी आपूर्ति गरिने व्यवस्था मिलाइएको छ। संरक्षण अधिकृत प्रविन पौडेलका अनुसार घाम लागेको समयमा सोलार प्रणालीमार्फत पानी पम्पिङ गरी तालमा भर्ने गरिन्छ, जसले सुक्खायाममा पानीको अभाव घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
निकुञ्जले तराई भू–परिधि कार्यक्रमसँगको सहकार्यमा करिब नौ लाख रुपैयाँ लागतमा उक्त ताल निर्माण गरेको हो। यसअघि कसरा मुख्यालय र भिम्ले पोस्ट नजिक पनि यस्तै प्रकारका सौर्ययुक्त ताल निर्माण भइसकेका छन्। यस वर्ष थप सिमसार क्षेत्र विकास गर्ने योजना समेत निकुञ्जले बनाएको छ।
यद्यपि, नयाँ ताल निर्माण भए पनि पुराना प्राकृतिक सिमसार क्षेत्र संरक्षणमा भने चुनौती कायमै रहेको निकुञ्ज प्रशासनको भनाइ छ। प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार बजेट अभावका कारण नन्द भाउजु ताल, देवी ताललगायतका सिमसार क्षेत्र संकटमा परेका छन्। दातृ निकायबाट पर्याप्त सहयोग नपाउँदा संरक्षण कार्य प्रभावित भएको उनले बताए।
उनका अनुसार वन्यजन्तुको संख्या वृद्धि र दीर्घकालीन संरक्षणका लागि व्यवस्थित बासस्थान अत्यन्त आवश्यक हुन्छ। तर घाँसेमैदान र सिमसार क्षेत्रको अवस्थाले वन्यजन्तु व्यवस्थापनमा कठिनाइ सिर्जना गरिरहेको छ। त्यसैले निकुञ्जले कृत्रिम सिमसार क्षेत्र निर्माणलाई प्राथमिकता दिएको हो।
संरक्षण प्रयासकै कारण पहिले लोपोन्मुख अवस्थामा पुगेका तमोर ताल र लामी ताल पुनर्जीवित भएका छन्। सरसफाइ र व्यवस्थापनका कारण ती तालहरू पुनः प्रयोगयोग्य बनेका हुन्। यद्यपि, अन्य केही सिमसार क्षेत्र अझै जोखिममा रहेका छन्।
करिब ९५२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज नवलपरासी (बर्दघाट–सुस्तापूर्व), चितवन, पर्सा र मकवानपुर जिल्लामा फैलिएको छ। यो क्षेत्र एकसिङ्गे गैँडा, पाटेबाघ र गौरजस्ता दुर्लभ वन्यजन्तुको महत्वपूर्ण बासस्थानका रूपमा परिचित छ।