काठमाडौँ,
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को १५२ औँ महासभामा सहभागी हुन संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज टर्कीको इस्तानबुल प्रस्थान गर्नुभएको छ।
वैशाख २ देखि ६ गतेसम्म इस्तानबुलमा आयोजना हुने उक्त महासभामा अध्यक्ष दाहालले ‘भावी पुस्ताका लागि शान्ति र न्याय सुनिश्चित’ विषयमा प्रवचन दिने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ। भ्रमणका क्रममा उहाँले विभिन्न देशका संसद्का प्रमुखसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने बताइएको छ।
त्यसैगरी अध्यक्ष दाहालले असंलग्न आन्दोलन (नाम) संसदीय सञ्जालको पाँचौँ सम्मेलनमा समेत मन्तव्य दिने कार्यक्रम रहेको छ। अन्तर–व्यवस्थापिका सङ्घका स्थायी समितिका कार्यक्रममा समेत नेपाली प्रतिनिधिमण्डल सहभागी हुने संसद् सचिवालयले जनाएको छ।
नेपाली प्रतिनिधिमण्डलमा सहभागी सांसदहरू विभिन्न सत्रमा सहभागी हुनेछन्। उक्त प्रतिनिधिमण्डल आगामी वैशाख ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ।