मोरङ,
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी आर्थिक वर्षदेखि नतिजामुखी बजेट निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। कोशी प्रदेश योजना आयोगद्वारा विराटनगरमा आयोजित बैंक सूचना प्रणालीसम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उहाँले विगतका असन्तुलित अभ्यासको गम्भीर समीक्षा गरी यसपटक सबै क्षेत्रमा प्रत्यक्ष परिणाम दिने बजेट ल्याइने बताउनुभयो।
उक्त कार्यक्रममा प्रदेशसभा सदस्यहरूलाई योजना छनोट तथा योजना बैंकमा ‘योजना इन्ट्री’ गर्ने विषयमा प्राविधिक र सैद्धान्तिक जानकारी प्रदान गरिएको थियो। मुख्यमन्त्री कार्कीले योजना बैंकलाई व्यवस्थित रूपमा सञ्चालन गरी त्यहाँ दर्ता भएका योजनालाई आगामी बजेटमा प्राथमिकता दिइने स्पष्ट पार्नुभयो।
उहाँले प्रदेश संरचनाले यसपटक देखिने गरी काम गर्नुपर्नेमा जोड दिँदै अघिल्लो बजेट निर्माण प्रक्रियामा भएका कमीकमजोरी दोहोरिन नदिन जिल्ला तहबाटै बजेट प्रविष्ट गर्ने प्रणाली विकास गरिएको जानकारी दिनुभयो। मन्त्री र सचिव बारम्बार परिवर्तन हुने प्रवृत्तिका कारण विकासको गति प्रभावित भएको भन्दै उहाँले त्यसप्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो।
यसैबीच, प्रदेश सरकारले विभिन्न विश्वविद्यालय तथा क्याम्पससँग प्रदेशको समग्र विकास, सेवा प्रवाह, अनुसन्धान र सम्भाव्यता अध्ययनका क्षेत्रमा सहकार्य गर्न सम्झौतापत्रमा हस्ताक्षर गरेको छ। प्रदेश योजना आयोगमार्फत परम्परागत रूपमा उत्पादन हुँदै आएको घरेलु मदिराको उत्पादन, गुणस्तर परीक्षण, बजारीकरण र ब्रान्डिङका विषयमा त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत केन्द्रीय प्रविधि क्याम्पस धरानसँग सम्झौता गरिएको जानकारी दिइएको छ।
त्यसैगरी, त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर क्याम्पस विराटनगर, पूर्वाञ्चल विश्वविद्यालय र कोशी प्रदेश मनमोहन प्राविधिक विश्वविद्यालयसँग पनि विभिन्न विकाससम्बन्धी विषयमा सहकार्य गर्ने सहमति गरिएको मुख्यमन्त्री कार्कीले उल्लेख गर्नुभयो।
प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाले यस्ता सम्झौता र योजना बैंकको प्रभावकारी कार्यान्वयनले प्रदेशको समग्र विकास र समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रदेश सरकारका प्रमुख सचिव राजेन्द्रप्रसाद पौडेलले आयोजना बैंकलाई प्राथमिकतामा राखेर कार्यान्वयन अघि बढाइने बताउनुभयो।
कार्यक्रममा प्रदेश सभामुख, मन्त्रीहरू, प्रदेश योजना आयोगका पदाधिकारी, प्रमुख सचिव, विभिन्न सचिवहरू, मुख्यमन्त्रीका सल्लाहकार, पत्रकार तथा शैक्षिक संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।