अफ्रिकाको साहेल क्षेत्रमा विदेशी नागरिक अपहरण बढ्दो

mayukarajkumari

अफ्रिका,

अफ्रिकाको असुरक्षित मानिने साहेल क्षेत्रमा विदेशी नागरिक अपहरणका घटनामा उल्लेख्य वृद्धि भएको छ। विशेषगरी मालीनाइजरमा सक्रिय जिहादी समूहहरूको गतिविधि बढेसँगै पर्यटक, सहायता कर्मी तथा विदेशी कामदारहरू उच्च जोखिममा परेका छन्। सन् २०२५ मा मात्र विदेशी नागरिक लक्षित दर्जनौँ अपहरणका घटना सार्वजनिक भएका छन्।

हालै बोस्नियाका नागरिक मारिन पेट्रोभिच माली भ्रमणका क्रममा सशस्त्र समूहद्वारा अपहरणमा परेका थिए। उनी ऐतिहासिक स्थल अवलोकनका लागि यात्रा गरिरहेका बेला अल–कायदा सम्बद्ध जिहादी समूहले नियन्त्रणमा लिएको बताइएको छ। करिब ५० दिन बन्दी बनाइएपछि उनलाई बिना फिरौती मुक्त गरिएको जनाइएको छ, तर सबै पीडितहरू यति भाग्यमानी नरहेको विश्लेषकहरूले बताएका छन्।

अध्ययनअनुसार विदेशी अपहरणमध्ये ठूलो हिस्सा चिनियाँ नागरिकहरू प्रभावित भएका छन्। सुन खानी तथा निर्माण क्षेत्रमा सक्रिय चिनियाँ कम्पनीहरू विस्तार भइरहेका कारण उनीहरू प्रमुख निशानामा परेका हुन्। जिहादी समूहहरूले फिरौतीलाई आम्दानीको मुख्य स्रोत बनाएको र यसबाट उनीहरूले आर्थिक तथा राजनीतिक दबाब सिर्जना गर्ने रणनीति अपनाएको बताइएको छ।

विशेषज्ञहरूका अनुसार अपहरणको उद्देश्य केवल पैसा असुल्नु मात्र नभई स्थानीय अर्थतन्त्र कमजोर पार्नु र विदेशी लगानी घटाउनु पनि हो। अझै केही विदेशी नागरिक, विशेषगरी मानवीय सेवामा संलग्न व्यक्तिहरू, लामो समयदेखि बन्दी अवस्थामा रहेका छन्। सुरक्षा अवस्था बिग्रँदै गएकाले साहेल क्षेत्र विदेशी नागरिकका लागि झन् जोखिमपूर्ण बन्दै गएको निष्कर्ष निकालिएको छ।

प्रतिक्रिया