कर्णाली प्रदेश खाद्य सुरक्षामा सात प्रदेशभन्दा अग्रणी: सचिव कर्ण

mayukarajkumari

कर्णाली,

कर्णाली प्रदेश
का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव सञ्जिवकुमार कर्णले कर्णाली प्रदेश सात प्रदेशमध्ये खाद्यका हिसाबले सबैभन्दा सुरक्षित रहेको बताउनुभएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेत ले सोमबार वीरेन्द्रनगर मा आयोजना गरेको ‘प्रदेश तथा स्थानीय तहमा बजार अनुगमन निरीक्षणमा संलग्न पदाधिकारी एवं कर्मचारीलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ मा सचिव कर्णले कर्णालीको माटो र यहाँ उत्पादन हुने खाद्यबाली अन्य प्रदेशभन्दा सुरक्षित रहेको जानकारी दिनुभयो।

उहाँले भन्नुभयो, “हाम्रो खाद्य स्वच्छ र गुणस्तरयुक्त हुनुपर्छ। शरीरलाई आवश्यक तत्व यहाँ उत्पादन हुने खाद्यबालीमा पाइन्छ। कर्णाली प्रदेशले रासायनिक प्रयोगलाई घटाउँदै अर्गानिक उत्पादनमा जोड दिने अभियान अघि बढाएको छ।” साथै, खाद्य स्वच्छता र गुणस्तरका विषयमा सरोकारवालाको समन्वय र सहकार्यका माध्यमबाट नागरिक तहसम्म सचेतना फैलिनुपर्नेमा उहाँले जोड दिनुभयो।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका निमित्त कार्यालय प्रमुख सन्तोष दाहालले पनि स्वच्छ तथा गुणस्तरयुक्त खाद्य प्राप्तिका लागि सुरक्षित उत्पादन, विवेकशील उपभोक्ता र जिम्मेवार प्रशासन आवश्यक रहेको बताउनुभयो। उहाँले खाद्यजन्य रोगका कारण मानव जीवनमा जोखिम बढ्दै गएकोले सुरक्षित खाना अत्यावश्यक रहेको उल्लेख गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले जीवनशैलीमा आएको परिवर्तनले स्वास्थ्यमा असर पुगेको र खाना तयारीदेखि थालीसम्मको वस्तु स्वच्छ र सुरक्षित हुनुपर्ने सुझाब दिनुभयो। उनीहरूले नागरिकको सोच, स्वाद र दृष्टिमा रहेका भ्रम तोड्न खाद्य उपभोग सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन आवश्यक रहेकोमा जोड दिएका छन्।

प्रतिक्रिया