काठमाडौँ,
नेपाल प्रहरीको साइबर ब्यूरोले बैंकिङ कसुरको अभियोगमा प्रभु बैंकका कर्पोरेट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ। यस प्रकरणमा यसअघि प्रतिवादी अशोक शेरचनमाथि अनुसन्धान भइरहेका बेला थप प्रमाण फेला परेपछि डङ्गोललाई नियन्त्रणमा लिइएको हो।
ब्यूरोका अनुसार डङ्गोलले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशन तथा प्रचलित कानून विपरीत कार्य गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। साथै, प्रभु म्यानेजमेन्ट प्रालिमा प्रवाह गरिएको ऋणमा कर्जा दुरुपयोग गरेको समेत पाइएको प्रहरीले जनाएको छ।
यस घटनामा संलग्नताको थप तथ्य संकलन गर्ने क्रममा जिल्ला अदालत काठमाडौँबाट अनुमति लिएर डङ्गोलमाथि अनुसन्धान अगाडि बढाइएको साइबर ब्यूरोका सूचना अधिकारी शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो।