बिटुमिन अभावले नागढुंगा–मुग्लिन सडकको कालोपत्र कार्य प्रभावित

mayukarajkumari

काठमाडौँ, 

पश्चिम एसियामा जारी द्वन्द्वका कारण बिटुमिन (अलकत्रा) को आपूर्तिमा अवरोध आएपछि नागढुंगा–मुग्लिन सडक विस्तार आयोजनाको कालोपत्र कार्य प्रभावित भएको छ। निर्माण सामग्री अभावका कारण आयोजनाको काम सुस्त बन्दै गएको र कतिपय स्थानमा रोकिने अवस्थामा पुगेको आयोजनाले जनाएको छ।

नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) का प्रमुख केशवप्रसाद ओझाका अनुसार वैदेशिक बजारबाट बिटुमिनको आपूर्ति सहज नहुँदा कालोपत्रे कार्यमा प्रत्यक्ष असर परेको हो। उहाँले हालको अवस्थाले काम निरन्तर रूपमा अघि बढाउन कठिन भइरहेको बताउनुभयो।

आयोजनाअन्तर्गत दुई खण्डमा दैनिक दुई ट्याङ्कर बिटुमिन आवश्यक पर्ने भए पनि अहिले हप्तामा एकदेखि दुई ट्याङ्कर मात्र उपलब्ध भइरहेको छ। सामान्य अवस्थामा दुई–तीन दिनका लागि स्टक राख्ने गरिए पनि हाल बुकिङ गरिसकेको बिटुमिनसमेत समयमै प्राप्त हुन नसकेको ओझाले जानकारी दिनुभयो।

बिटुमिन मात्र नभई पेट्रोलियम पदार्थबाट बन्ने अन्य सामग्री, जस्तै पोलिथिन पाइपको आपूर्तिमा समेत समस्या देखिएको छ। निर्माण सामग्रीको अभाव र मूल्यवृद्धिका कारण निर्माण व्यवसायीहरूले ‘कन्स्ट्रक्सन होलिडे’ घोषणा गर्नुपर्ने अवस्था आएको गुनासो गर्दै आएका छन्। यसबारे आयोजना पक्ष पनि जानकार रहेको ओझाले बताउनुभयो।

चुनावपछिको दुई हप्तामा पहिलो खण्डमा करिब पाँच किलोमिटर अन्तिम तहको कालोपत्रे सम्पन्न भएको छ भने दोस्रो खण्डमा करिब डेढ किलोमिटर पहिलो तहको कालोपत्रे गरिएको छ। तर बिटुमिनको अनिश्चित आपूर्तिका कारण बाँकी काम कहिलेसम्म सुचारु रूपमा अघि बढ्न सकिन्छ भन्नेमा अन्योल कायमै रहेको छ।

“अहिले एउटा ट्याङ्कर बिटुमिन आएपछि त्यति बेलासम्म काम अघि बढाउँछौँ, त्यसपछि अर्को नआउँदासम्म पर्खनुपर्ने अवस्था छ,” ओझाले भन्नुभयो। यस वर्ष लिइएको तीव्र प्रगति गर्ने लक्ष्य बिटुमिन अभावकै कारण पूरा नहुने देखिएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो।

प्रतिक्रिया