काठमाडौँ,
‘जलस्रोतको व्यवस्थित उपयोग, समृद्ध देश निर्माणमा सहयोग’ भन्ने नाराका साथ आज देशभर सिँचाइ दिवस तथा जलस्रोत तथा सिँचाइ विभागको स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
वि.सं. २००९ सालमा नहर विभाग स्थापना भई कृषि जमिनमा सिँचाइको सुरुआत गरिएको सन्दर्भमा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। संस्थागत विकासक्रममा नहर विभाग हुँदै सिँचाइ विभाग र पछि २०७५ सालमा जलस्रोत तथा सिँचाइ विभाग स्थापना गरिएको हो।
नेपालको पहिलो आधुनिक सिँचाइ प्रणालीका रूपमा चिनिने ‘चन्द्र नहर’ १९७९ सालमा निर्माण सुरु भई १९८५ सालमा सम्पन्न भएको थियो। राणा प्रधानमन्त्री चन्द्रशम्शेर जवराको पहलमा निर्माण गरिएको उक्त नहरले हालसम्म सप्तरी जिल्लाको करिब १० हजार ५०० हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको छ, जसबाट करिब ३५ हजार किसान परिवार लाभान्वित भएका छन्।
हाल देशभर सिँचाइ विस्तारमा प्रगति भए पनि अझै करिब १० लाख हेक्टर कृषियोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन बाँकी रहेको जलस्रोत तथा सिँचाइ विभागले जनाएको छ। विभागका महानिर्देशक ई. मित्र बरालका अनुसार कुल सिँचाइयोग्य २५ लाख ३६ हजार हेक्टरमध्ये करिब १५ लाख ८७ हजार हेक्टर क्षेत्रमा मात्र सिँचाइ पुगेको छ।
नेपालको अर्थतन्त्र कृषिमा आधारित रहेकाले दिगो र भरपर्दो सिँचाइ प्रणालीबिना उत्पादन वृद्धि र खाद्य सुरक्षा सुनिश्चित गर्न कठिन हुने बताइएको छ। करिब ६२ प्रतिशत जनसंख्या कृषि पेसामा संलग्न रहेको सन्दर्भमा सिँचाइको विस्तारलाई उच्च प्राथमिकतामा राखिएको विभागले जनाएको छ।
विभागअन्तर्गत सञ्चालित छवटा राष्ट्रिय गौरवका सिँचाइ आयोजनाले पछिल्लो समय गति लिएका छन्। महाकाली, रानी जमरा कुलरिया, बबई, भेरी बबई डाइभर्सन, सिक्टा र सुनकोशी मरिन डाइभर्सन आयोजना कार्यान्वयनमा छन्। तीमध्ये केही आयोजनामा उल्लेखनीय प्रगति भएको छ भने अन्य आयोजनाले पनि गति लिने अपेक्षा गरिएको छ।
तराई तथा भित्री मधेस क्षेत्रमा भूमिगत जल सिँचाइमार्फत करिब तीन लाख १८ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालनमा छ। यसले कृषि उत्पादन वृद्धि, खाद्य सुरक्षा र रोजगारी सिर्जनामा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।
विभागले जलस्रोत संरक्षण, नदी नियन्त्रण तथा जलजन्य विपद् व्यवस्थापनका क्षेत्रमा पनि काम गर्दै आएको छ। हालसम्म एक हजार ४७७ किलोमिटर तटबन्ध, १३ हजार ६७१ हेक्टर जमिन उकास र ६३५ वटा चेकड्याम निर्माण सम्पन्न गरिएको जनाइएको छ।
समग्रमा, सिँचाइ क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि अझै सबै कृषियोग्य जमिनमा सिँचाइ सुविधा विस्तार गर्न चुनौती कायमै रहेको सरोकारवालाहरूले बताएका छन्।