काठमाडौँ,
पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको समस्याका कारण सुदूरपश्चिम प्रदेशका ठूला विकास आयोजनाहरू प्रभावित भएका छन्। इन्धन अभाव र लागत वृद्धिका कारण निर्माण कार्य सुस्त हुनुका साथै केही आयोजना रोक्ने अवस्थामा पुगेका छन्।
निर्माण व्यवसायीहरूले मौज्दात इन्धन प्रयोग गरी काम अगाडि बढाइरहे पनि नयाँ इन्धनको मूल्यवृद्धि र अभावले काम निरन्तरता दिन कठिन भएको बताएका छन्। सेती राजमार्ग दक्षिण खण्ड (टीकापुर–लोडे–चैनपुर–ताक्लाकोट सडक आयोजना)का आयोजना प्रमुख रामकुमार देवका अनुसार आयोजना लगभग रोक्ने स्थितिमा पुगेको छ।
उहाँका अनुसार ठूला उपकरणहरू समेत इन्धन अभावका कारण बन्द भएका छन् भने निर्माण कार्य ठप्प हुने अवस्था आएको छ। २०७४ सालदेखि सुरु भएको २०४ किलोमिटर लामो उक्त आयोजनाअन्तर्गत हालसम्म करिब १० किलोमिटर कालोपत्रे भएको छ भने अझै ३५ किलोमिटर ट्र्याक खोल्न बाँकी रहेको छ।
चालु आर्थिक वर्षमा मात्रै सात किलोमिटर कालोपत्रे भएको भए पनि बिटुमिन अभावका कारण थप काम प्रभावित भएको आयोजना कार्यालयले जनाएको छ। सरकारले चालु वर्षका लागि रु २५ करोड विनियोजन गरेको भए पनि महँगी र सामग्री अभावले काम सुस्त भएको बताइएको छ।
यस्तै, महाकाली सिँचाइ तेस्रो चरण आयोजनामा पनि मूल्यवृद्धिको प्रत्यक्ष असर परेको छ। मूल नहर निर्माणका लागि सात प्याकेजमा ठेक्का भए पनि निर्माण व्यवसायीहरूले लागत बढेको भन्दै काम गर्न नसक्ने भन्दै कार्यालयमा निवेदन दिन थालेका छन्। नदी नियन्त्रणका लागि आवश्यक तारजालीको मूल्यवृद्धिका कारण पनि काम रोकिएको सूचना अधिकारी यादव बरालले जानकारी दिनुभयो।
महाकाली करिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–तिङ्कर) सडक योजनामा पनि इन्धन र बिटुमिनलगायत सामग्रीको मूल्यवृद्धिका कारण काम प्रभावित भएको छ। ४२५ किलोमिटर लामो उक्त करिडोर विभिन्न जिल्लामा खण्डीकृत रूपमा निर्माण भइरहेको भए पनि हाल निर्माण व्यवसायीहरूले काम स्थगित गर्ने चेतावनी दिएका छन्।
निर्माण व्यवसायी कञ्चनपुरका अध्यक्ष पुष्पराज अवस्थीले मूल्यवृद्धि समायोजन नभएसम्म काम अगाडि बढाउन नसकिने अवस्था आएको बताउनुभयो। उहाँका अनुसार धेरै व्यवसायीहरूले घाटामा काम गर्नुपरेको भन्दै निर्माण क्षेत्रमै आपतकाल घोषणा गर्नुपर्ने मागसमेत अघि सारेका छन्।
यसरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिले सुदूरपश्चिमका सडक, सिँचाइ र करिडोरजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू गम्भीर रूपमा प्रभावित भएका छन्।