काठमाडौँ,
फरक क्षमता (अपाङ्गता) भएका बालबालिकाको स्याहारमा अभिभावकहरूलाई गम्भीर कठिनाइ हुने गरेको पाइएको छ। विशेष ध्यान, समय र निरन्तर हेरचाह आवश्यक पर्ने भएकाले अभिभावकहरूको व्यक्तिगत जीवनमा समेत असर परेको उनीहरूले बताएका छन्।
टीकापुर नगरपालिका–१ वनगाउँकी जगतमाया शाहीले जन्मजात अपाङ्गता भएकी १९ वर्षीया छोरीको स्याहार गर्दै आउनुभएको छ। शारीरिक रूपमा पूर्ण रूपमा चल्न नसक्ने छोरीको उपचारका लागि नेपाल र भारतका विभिन्न अस्पतालमा प्रयास गरे पनि उल्लेख्य सुधार नभएको उहाँको भनाइ छ। “म शिक्षित भए पनि छोरीको स्याहारमै समय दिनुपरेपछि अन्य काम गर्न सकिनँ,” उहाँले भन्नुभयो।
छोरीको भविष्य र आफ्नो अनुपस्थितिमा स्याहार कसले गर्ने भन्ने चिन्ता सधैं रहने जगतमायाको भनाइ छ। विद्यालयमा समेत पहुँचयुक्त वातावरण नहुँदा छोरीले नियमित शिक्षा पाउन नसकेको उहाँले बताउनुभयो। साथै, अपाङ्गता भएका बालिकाको महिनावारी र सरसफाइ व्यवस्थापनसमेत थप चुनौतीपूर्ण हुने गरेको उहाँको अनुभव छ।
यस्तै, टीकापुरकै मनोज विक पनि तल्लो शरीर नचल्ने अवस्थाका कारण लामो समयदेखि कठिनाइ भोग्दै आउनुभएको छ। कक्षा १२ सम्म अध्ययन गरेका उहाँले शारीरिक अवस्थाका कारण नियमित क्याम्पस जान नसकेपछि अध्ययन रोक्नुपरेको बताउनुभयो। घरमै स्वअध्ययन गरेर परीक्षा दिएका उहाँ अहिले पनि पढाइ जारी राख्ने इच्छा भए पनि व्यवहारिक कठिनाइ रहेको बताउनुहुन्छ।
अपाङ्गता भएका बालबालिकाका लागि उपलब्ध सहायता सामग्रीले केही राहत दिए पनि ती सामग्री लामो समय टिक्ने अवस्था नरहेको र बिग्रिएपछि मर्मतमा समस्या हुने गरेको अभिभावकहरूको गुनासो छ।
जोशीपुर गाउँपालिका–६ का टीकाराम डगौरा जन्मजात अपाङ्गता भए पनि कक्षा ११ मा अध्ययनरत हुनुहुन्छ। उहाँ ह्विलचेयरको सहायतामा विद्यालय जाने गर्नुहुन्छ तर बाटोघाटोको असुविधा र उपकरण बिग्रँदा अध्ययनमा बाधा पर्ने गरेको बताउनुहुन्छ। “साथीहरूको सहयोग नभए विद्यालय पुग्नै कठिन हुन्छ,” उहाँले भन्नुभयो।
टीकापुर नगरपालिकामा हाल १,१९९ जनाले अपाङ्गता परिचयपत्र बनाएका छन्। क, ख, ग र घ वर्गमा वर्गीकरण गरी सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै आएको छ। नगरपालिका अनुसार यस वर्ष २५ वर्षमुनिका २९ जना बालबालिकालाई सहायता सामग्री वितरण गरिएको छ।
नगरपालिकाका महिला, बालबालिका तथा समाजकल्याण शाखा प्रमुख सङ्गीता शाहका अनुसार सहायता सामग्री वितरण भए पनि बाटोघाटोका कारण ती सामग्री छिट्टै बिग्रिने समस्या देखिएको छ। साथै, मर्मतको अभावले दीर्घकालीन प्रयोगमा कठिनाइ भएको उहाँले बताउनुभयो।
अधिकारकर्मी निर्मला कडायतले समाजमा अपाङ्गताबारे सही बुझाइको अभावले अभिभावक र बालबालिका दुवैले अपमान र भेदभाव भोग्नुपरेको बताउनुभयो। उहाँले अपाङ्गमैत्री विद्यालय, घरमै स्वास्थ्य सेवा, थेरापी तथा परामर्श सेवा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।