काठमाडौँ,
प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता जयन्ती आज देशभर श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ। सीतालाई सत्यवती, पतिव्रता र आदर्श नारीका रूपमा स्मरण गर्दै विभिन्न रामजानकी मन्दिरहरूमा विशेष धार्मिक कार्यक्रमहरू आयोजना गरिएका छन्।
त्रेता युगमा मिथिलाका राजा जनकले गरेको यज्ञका क्रममा खेत जोत्दा सीताको उत्पत्ति भएको धार्मिक ग्रन्थहरूमा उल्लेख गरिएको छ। भगवान् विष्णुको अवतारका रूपमा जन्मिएका श्रीरामसँग विवाह भएपछि सीताले रामसँगै वनवास जानेदेखि रावणद्वारा हरण हुँदा पनि आफ्नो पतिव्रता धर्म नत्यागेको वर्णन विभिन्न पुराणहरूमा पाइन्छ।
धर्मशास्त्रविद् तोयराज नेपालका अनुसार सीताको जीवनले नारी आदर्श र समर्पणको उच्च उदाहरण प्रस्तुत गरेको छ। रामसँगको वनवास, लव–कुशको जन्म तथा उनीहरूको पालनपोषणमार्फत सीताले मातृत्व र कर्तव्यनिष्ठाको उत्कृष्ट उदाहरण स्थापित गर्नुभएको उहाँको भनाइ छ।
रामायणका कथाअनुसार पछि अयोध्या फर्किएपछि सीताको पवित्रतामाथि प्रश्न उठेपछि उहाँले धर्तीमातालाई आह्वान गर्दै पृथ्वीमा लोप हुनुभएको उल्लेख छ। माटोबाट उत्पत्ति भएकी सीता अन्ततः धर्तीमै लीन हुनुभएको धार्मिक विश्वास रहेको छ।
यसै अवसरमा देशभरका रामजानकी मन्दिरहरूमा विशेष पूजा आराधना भइरहेको छ। जनकपुरधामस्थित रामजानकी मन्दिरमा ठूलो मेला लाग्ने परम्परा छ भने काठमाडौँको बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर परिसरमा पनि विशेष पूजाको कार्यक्रम आयोजना गरिएको छ।
सीताको योगदान र आदर्शलाई स्मरण गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गरेको छ। यस वर्षको सीता जयन्तीका अवसरमा नागार्जुन नगरपालिका–५ स्थित सीतापाइला मन्दिरमा पनि बिहानदेखि विशेष पूजा आराधना गरिएको आयोजकले जनाएको छ।