काठमाडौँ,
गृह मन्त्रालय ले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा अवैध वित्तीय लगानी न्यूनीकरणका लागि आवश्यक सहयोग गर्न सर्वसाधारणसँग आग्रह गरेको छ।
मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद् ले सूचीकृत गरेका व्यक्ति, समूह वा सङ्गठनसँग सम्बन्धित गतिविधिबारे कुनै सूचना वा आधार प्राप्त भएमा गोप्य रूपमा जानकारी उपलब्ध गराउन अनुरोध गरेको हो। त्यस्ता सूचना सूचीकरणका लागि तोकिएका मापदण्डभित्र पर्न सक्ने भएकाले समयमै जानकारी गराउन मन्त्रालयले जोड दिएको छ।
त्यस्तै, कुनै व्यक्ति, निकाय वा संस्थाले आफ्नो कार्यका क्रममा अनाधिकृत वा शङ्कास्पद गतिविधि गरेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराउन पनि मन्त्रालयले आग्रह गरेको छ। प्राप्त सूचना नजिकको जिल्ला प्रशासन कार्यालय, स्थानीय प्रशासन वा प्रदेश समन्वय शाखामार्फत बुझाउन सकिने जनाइएको छ।
मन्त्रालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ अनुसार यस्तो सहयोगको आग्रह गरिएको स्पष्ट पारेको छ। नागरिकको सक्रिय सहभागिताबाट मात्र अवैध आर्थिक क्रियाकलाप नियन्त्रण गर्न सकिने मन्त्रालयको भनाइ छ।