चितवन,
चितवन राष्ट्रिय निकुञ्जले आफ्नो सुरक्षामा प्रविधि र तालिमप्राप्त कुकुरको परिचालन गर्दै सुरक्षा प्रणालीलाई अझ सुदृढ बनाएको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार निकुञ्जले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, र संयुक्त अनुसन्धान सेल सञ्चालन गर्दै आएको छ। अब चारवटा तालिमप्राप्त कुकुर पनि निकुञ्जको सुरक्षा कार्यमा सक्रिय रूपमा प्रयोग भइरहेका छन्।
सुरक्षामा प्रविधिको प्रयोग पनि गर्दै आएको छ। रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेरा, ड्रोन, भेइकल ट्र्याकिङ रेकर्ड सिस्टम जस्ता प्रविधिहरूको सहयोगले निकुञ्जको निगरानी क्षमता बढाइएको छ। यसका साथै पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनमार्फत पनि गस्ती सञ्चालन भइरहेको छ।
थापामगरले बताएअनुसार, प्रविधि र तालिमप्राप्त कुकुरको सहयोगले चोरीसिकारी नियन्त्रणमा महत्वपूर्ण सफलता हासिल भएको छ। वन्यजन्तुको अपराधमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न र चोरीसिकारी न्यूनीकरण गर्न यसबाट मद्दत मिलिरहेको छ। यसमा युवा परिचालन समिति, नेपाली सेना, र निकुञ्जका कर्मचारीहरूको अथक प्रयास पनि प्रभावकारी रहेको उनले बताए।
निकुञ्ज प्रशासनले प्रविधि र मानवीय स्रोतको संयोजनमार्फत वन्यजन्तु संरक्षण र सुरक्षा प्रणालीलाई थप मजबुत बनाउने लक्ष्य राखेको छ।