सत्ती भन्सार कार्यालय : चालु वर्षमा राजस्व सङ्कलनमा कमी

mayukarajkumari

कैलाली,

टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा वार्षिक लक्ष्यको ६० प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ। चालु आवमा भन्सारले रु १५ करोड ८४ लाख ४९ हजारको लक्ष्य लिएकोमा फागुनसम्ममा रु ९ करोड ६२ लाख ४१ हजार मात्र सङ्कलन भएको छ। बाँकी चार महिनामा ४० प्रतिशत राजस्व सङ्कलन गर्नुपर्ने देखिएको छ।

कार्यालय प्रमुख चक्रबहादुर सोनीका अनुसार आठ महिनामा चार महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ भने बाँकी चार महिनामा लक्ष्य पूरा गर्न सकेको छैन। असोज, मङ्सिर, पुस र माघमा लक्ष्यभन्दा बढी राजस्व उठेको छ भने साउन, भदौ, कात्तिक र फागुनमा लक्ष्य हासिल हुन सकेको छैन।

सबैभन्दा कम राजस्व साउन महिनामा सङ्कलन भएको थियो। साउनमा रु १ करोड २८ लाख ९० हजार राजस्व उठाउनु पर्नेमा केवल रु ६३ लाख ३७ हजार मात्रै सङ्कलन भएको थियो, जुन लक्ष्यको ४९.१७ प्रतिशत मात्र हो। भने सबैभन्दा बढी मङ्सिरमा रु १ करोड ६७ लाख ७४ हजार राजस्व सङ्कलन भएको थियो, जुन उक्त महिनाको लक्ष्यको १३८.५१ प्रतिशत हो।

भन्सार प्रमुख सोनीले खुला सिमानाका कारण चोरीपैठारीका घटना हुने भएकाले राजस्व सङ्कलनमा चुनौती भएको बताएका छन्। उहाँका अनुसार, सामानको आयातको अवस्था अनुसार मात्र लक्ष्य निर्धारण हुन्छ र हालको परिस्थितिमा बाँकी चार महिनामा लक्ष्य हासिल हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गर्नुभयो।

गत वर्ष सत्ती भन्सारले वार्षिक लक्ष्यको ११९ प्रतिशत राजस्व सङ्कलन गरेको थियो। त्यसअघिका तीन वर्षमा भने लक्ष्य पूरा गर्न सकेको थिएन। आव २०८०/८१ मा रु १२ करोड एक लाख ४७ हजारको लक्ष्यमा रु १० करोड २ लाख ४२ हजार मात्र, आव २०७९/८० मा रु १६ करोड ९४ लाख ४१ हजारको लक्ष्यमा रु ७ करोड ५० लाख ४० हजार मात्र, र आव २०७८/७९ मा रु २० करोड ५८ लाख ६१ हजारको लक्ष्यमा रु १० करोड ६७ लाख ९३ हजार मात्र राजस्व सङ्कलन भएको थियो।

यसरी सत्ती भन्सार कार्यालयले गत वर्षको तुलनामा चालु वर्षमा लक्ष्य अनुसारको राजस्व सङ्कलनमा कमी देखिएको छ, तर भन्सार प्रमुखले बाँकी महिनामा लक्ष्य पूरा गर्ने दाबी गरेका छन्।

प्रतिक्रिया